प्रतिनिधि सभा निर्वाचन २०८२ सामान्य प्रश्नहरू

प्रतिनिधि सभा भनेको के हो? यसले के गर्छ?
प्रतिनिधि सभा नेपालको मुख्य व्यवस्थापिका (Legislative)को रुपमा रहेको सदन हो। यसमा नेपाली जनताले चुनावमा छानेर पठाएका सदस्यहरु हुन्छन्। यो सदनका सदस्यको सामान्य बहुमत (५०%+मत)ले देशको प्रधानमन्त्री (Prime Minister) छान्दछ्। प्रधानमन्त्री राज्यको कार्यकारी प्रमुख (Executive Head) रहन्छ र प्रधानमन्त्रीकै रोजाई अनुसार मन्त्रिपरिषद (Cabinet) बन्दछ। व्यवस्थापिकाले कानून बनाउने, बजेट बनाउने लगायतका कार्य समेत गर्दछ।
प्रतिनिधि सभामा कतिजना सदस्य हुन्छन र कसरी छानिन्छन्?
प्रतिनिधि सभामा २७५ सदस्य हुन्छन। १६५ प्रत्यक्ष चुनावबाट र ११० समानुपातिक सूचीबाट छानिन्छन्।
प्रत्यक्ष चुनाव के हो?यो कसरी हुन्छ?
नेपालको सम्पूर्ण भूगोललाई १६५ वटा निर्वाचन क्षेत्रमा छुट्याइएको हुन्छ र प्रत्येक निर्वाचन क्षेेत्रमा पार्टिगत वा स्वतन्त्र रुपमा उम्मेद्वार उठन पाउछन्। निर्वाचनमा जुन निर्वाचन क्षेत्रमा जसले सबैभन्दा बढी मत ल्याउछ त्यो व्यक्ती प्रतिनिधि सभा सदस्यको रुपमा छानिन्छ।
समानुपातिक निर्वाचन के हो? यसबाट सदस्य कसरी छानिन्छ?
निर्वाचनमा दुईवटा मतपत्रबाट भोट गरिन्छ। प्रत्यक्ष तर्फ व्यक्ती उमेद्वारलाई छानिन्छ भने समानुपातिकमा पार्टीको चुनाव चिन्हलाई मात्र भोट गरिन्छ। राजनैतिक दल (पार्टी)ले देशभरी बाट प्राप्त मतलाई गनेर प्राप्त मतको अनुपातमा (ratio) कोटा दिइन्छ। राजनैतिक दलले पहिले नै प्रस्तुत गरेको समानुपातिक सूचीको प्राधमिकता अनुसार आफ्नो कोटा बराबरका सदस्य प्रतिनिधि सभा सदस्य चुनिन्छन। तर समानुपातिक सदस्य पाउनका निम्ती राजनैतिक दलले कम्तिमा कुल बैध (valid) समानुपातिक मतको ३% पाएको हुनु पर्छ। सो भन्द कम मत पाउने दललाई समानुपातिक कोटा छुट्याइदैन।
मतदान गर्न के लिएर कँहा जानुपर्छ?
नेपाली नागरिकले मतदान गर्न मतदाता नामावलीमा नाम लेखाएको हुनुपर्छ। मतदानको दिन मतदाता प्रमाण पत्र वा नागरिकता प्रमाणपत्र वा नेपाली पासपोर्ट सक्‍कल लिएर आफ्नो नाम भएको मतदान केन्द्रमा जानुपर्छ। आफ्नो मतदान केन्द्र मतदाता प्रमाण पत्रमा लेखिएको हुन्छ भने निर्वाचन आयोगको वेभसाइट मा गएर आफ्नो ठेगाना हाली खोज्न पनि सकिन्छ।
निर्वाचन कहिले हुँदैछ?
प्रतिनिधि सभा निर्वाचन फागुन २१, २०८२ (ई.स. २०२६ मार्च ५) मा हुँदैछ। मतदान समय बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म छ।
🏠